Members Zone
News

तमू धीं जापानको २० औं रोधी साँझ भव्यताका साथ सम्पन्न

Published on November 18, 2016 under News
तमू धीं जापानको २० औं रोधी साँझ भव्यताका साथ सम्पन्न

टोकियो – तमु धीं जापानको २० औं रोधी साँझ विविध साँगीतिक कार्यक्रम सहित आइतवार टोकियोमा सम्पन्न भएको छ । तमु धीं जापानले बिगत लामो समयदेखि हरेक वर्षको गृष्ममा आयोजना गर्दै आएको साँगीतिक कार्यक्रमको २० अाैं शृङ्खला आइतवार सम्पन्न भएको हो ।

कार्यक्रममा दर्जनौ स्ठानीय कलाकारहरुले नेपाली तथा गुरुङ समुदायको सँस्कृति झल्कने खालका थुप्रै गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । यसैगरी कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिकाद्वय शान्ति सुनार र चिजा तामाङले लोकभाका पस्केका थिए । गायिकाद्वय टोकियो रोधी क्लवका कलाकार हुन् । रोधी सांझ कार्यक्रममा नेपोसोल ब्याण्ड, चर्चित आधुनिक तथा गजल गायक दिपु न्यौपाने, आधुनिक गायक अमर गुरुङ लगायतका कलाकर्मीहरुको  पनि सांगीतिक प्रस्तुती रहेका थिए ।

यसअघि प्रमुख अतिथि जापानका लागि कार्यबाहक राजदूत कृष्णचन्द्र अर्याल लगायतका बिशेष अतिथिहरुले २० अाैं रोधी साँझ कार्यक्रमको रिबन काटेर सामुहिकरुपमा उदघाटन गरेका थिए ।

समुदघाटन मन्तब्य राख्दै कार्यबाहक राजदूत अर्यालले यसप्रकारका साँगीतिक कार्यक्रमहरुमा जापानीहरुको उपस्थिति बढाउन सके नेपाली सँस्कृतिलाई जापानी समुदायमा प्रचार हुने र नेपालको पर्यटन प्रबर्धनमा टेवा पुग्ने बिचार ब्यक्त गरे । यसैगरी बिशेष अतिथि एनआरएनका केन्द्रिय उपाध्यक्ष भवन भट्टले एनआरएनसंग समन्वय गरी जापानका हरेक संघसंस्थाले अब एक-एक वटा पर्यटन प्रबर्द्धन सम्बन्धि बिशेष कार्यक्रम तय गरी ’अतिथि देवो भव’ (एडिबी) अभियानलाई सफल पार्न अपिल गरे ।

सो अवसरमा एनआरएन आइसीसी सदस्य ओम गुरुङ, एनआरएन जापानका अध्यक्ष सुदन थापा, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा लगायतले २० अाैं रोधी साँझ सफलताको शुभकामना दिएका थिए । औपचारिक कार्यक्रमको अन्तमा सभापतिको आसनबाट बोल्दै तमु धीं जापानका अध्यक्ष श्री गुरुङले २०अाैं रोधी साँझलाई सफल पार्न सहयोग गर्ने प्रायोजक, सहयोगी, पत्रकार, संघसंस्था, कलाकार, स्वयमसेवक लगायत सबैलाई धन्यबाद ब्यक्त गरे । उनले गुरुङ समुदायको साँस्कृतिक धरोहर मानिने रोधी संस्कारको गरिमा जोगाउन दुई दशकदेखि तमु धी जापान निरन्तर लागिपर्दै आएको बिचार ब्यक्त गरे ।

वरिष्ठ उपाध्यक्ष अनिता गुरुङको स्वागत मन्तब्य रहेको सो रोधी साँझ साँगीतिक समारोहको पूर्व अध्यक्ष ओमप्रकाश गुरुङ र पुनम गुरुङले सञ्चालन गरेका थिए । औपचारिक चरणमा भने महासचिव अमर गुरुङको सञ्चालन  रहेको थियो । कार्यक्रममा अतिथि कलाकार र प्रायोजकहरुलाई स्वागत तथा सम्मान पनि गरिएको थियो ।

रोधी साँझ जापानमा लामो इतिहास बोकेको र निरन्तरता पाउँदै आएको एक स्थापित साँगीतिक कार्यक्रम मानिन्छ ।***