Members Zone
News

२२ औं ल्होसार साँझ भव्यताका साथ सम्पन्न

Published on January 12, 2017 under News
२२ औं ल्होसार साँझ भव्यताका साथ सम्पन्न

टोकियो – तमु धीं जापानको आयोजनामा सञ्चालित २२ औं ल्होसार साँझ भव्यताका साथ सम्पन्न भएको छ । टोकियो शिन्जुकु, खाबुकी चो अवस्थित युनिभर्सल सिटी हलमा जनवरी २ तारिकमा कार्यक्रम आयोजना गरिएको थियो ।
लोक संस्कृति, भेषभूषा र मौलिक पहिचानलाई जगेर्ना गर्ने उद्देश्यले स्थानीय कलाकारहरुका साथमा एड्ज व्याण्ड र नाप्सोल व्याण्डका कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुति देखाएका थिए । नेपालबाट ख्याती प्राप्त गुरुङ कलाकारहरुलाई निमन्त्रणा गर्ने परम्परालाई यस पटक भने आयोजकले परिवर्तन गरेका छन् । २२ औं ल्होसार साँझमा गुरुङ चलचित्रका नृत्य निर्देशक अरमान गुरुङका साथमा स्थानीय कलाकारहरुबाट गुरुङ नृत्य र सांगीतिक प्रस्तुति देखाइएको थियो ।


तमु धीं जापानका अध्यक्ष श्री गुरुङको सभापतित्व तथा धीका बरिष्ठ उपाध्यक्ष अनिता गुरुङको संयोजकत्वमा रहेको ल्होसार साँझ २०१७ का प्रमुख अतिथि एनआरएनए आईसीसी सदस्य ओम गुरुङ रहनु भएको थियो । प्रमुख अतिथि गुरुङले विदेशी भूमिमा रहेर पनि गुरुङ जातिहरुले आफ्नो, सँस्कार सँस्कृति र परम्परालाई बचाई राख्न २१ औं बसन्त पार गरि २२ औं बसन्तको लागि शुभकामना दिदै तमु धीं जापानले ल्होसार र रोधी साँझ जस्ता जातीय पहिचान झल्कने कार्यक्रमहरु गर्दै आएकोमा गर्ब लागेको बताउनु भयो । बिशेष अतिथि जनजाति महासंघ जापानका अध्यक्ष पासांग शेर्पाले कार्यक्रम सफलताको शुभकामना तथा तमु धीं जापानलाई धन्यवाद दिनु भएको थियो भने बिशेष अथिति नेपाली राजदुताबास टोकियोका प्रतिनिधि रेवन्त केसीबाट कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो ।


कार्यक्रममा ‘ल्होसारै’ गीतको बोलमा नृत्य, कौडा नृत्य सहित एक दर्जन गुरुङ भेषमा सजिएर गरिएको नृत्यले दर्शकहरुको मन जित्न सफल भएको थियो । उक्त कार्यक्रमको अवसर पारि तमु धीं जापानका पूर्व अध्यक्ष हर्क गुरुङ र भिम गुरुङलाई धींको विकासमा विशेष योगदान गरे बापत वर्तमान अध्यक्ष श्री गुरुङले खादा लगाई तामापत्रद्वारा सम्मान गर्नु भएको थियो । कार्यक्रमको अन्तमा अध्यक्ष गुरुङले कार्यक्रम सफल बनाई दिनु भएकोमा धन्यवाद सहित २३ औं ल्होसार साँझको लागि अग्रिम निमन्त्रणा दिनु भयो ।
सभारः समुद्रपारि डट कम